चितवन २२ असोज । नारायणगढमा रहेको गरिमा विकास बैंक लिमिटेडले नारायणी कला मन्दिरलाई शुक्रबार आर्थिक सहयोग गरेको छ। कला मन्दिरले वर्षेनि आयोजना गर्दै आएको ‘गरिमा इन्द्रेणी साँझ’ कार्यक्रम प्रायोजन गरेवापतको दुई लाख रूपैयाँ कला मन्दिरलाई हस्तान्तरण गरेको हो। शुक्रबार कला मन्दिरमा पुगेर बैंकका सञ्चालक विमल पाण्डे, सिइओ गोविन्दप्रसाद ढकाललगायतको टोलीले कला मन्दिरका अध्यक्ष उद्वव जोशीलाई उक्त चेक हस्तान्तर गरेको हो।
कला र संस्कृति संरक्षण र विकासको लागि का मगर्दै आएको कला मन्दिरसँग गरिमाले विगत लामो समयदेखि सहकार्य गर्दै आएको छ। यो सहकार्यलाइ अझ पछिसम्म पनि निरन्तरता दिने बैंकका सिइओ ढकालले बताए। ‘कला मन्दिरसँग आर्थिकरूपमा भन्दा पनि कला मन्दिरको कार्यक्रममा सहभागीता जनाउने प्रयास गरेका हौँ,’ उनले भने, ‘यो क्रम निरन्तर चलिरहोस् भन्ने हामी पनि चाहन्छौँ।’
चेक ग्रहणपछि कला मन्दिरका अध्यक्ष उद्वव जोशीले गरिमा जस्तै सहयोगी संस्थाकै आडमा रहेर नेपाली मौलिक कला र संस्कृति संरक्षण गर्ने प्रयासलाई कला मन्दिरले निरन्तरता दिन सकेको बताए। गरिमासँगको सम्बन्धलाई निरन्तर अगाडि बढाउन कला मन्दिर तयार रहेको उनको भनाइ छ।
कार्यक्रममा कला मन्दिरका पूर्व अध्यक्ष एवम् सल्लाहकार विनय श्रेष्ठले कला मन्दिरको विकासका लागि गरेका विभिन्न खालका प्रयास र उतारचढावबारे आफ्ना धारणा राखेका थिए। कार्यक्रममा कला मन्दिरका पदाधिकारी तथा पूर्व अध्यक्ष एवम् सल्लाहकारहरुको समेत उपस्थिति थियो। विसं. २०१९ सालमा स्थापना भएको कला मन्दिरले विषेश गरी नृत्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। साथमा गायन, बाध्यवादन, नाटकलगायतका क्षेत्रमा पनि कार्यक्रम गर्दै नयाँ प्रतिभा उत्पादन गर्दै आएको छ।


























