चितवन २२ असोज । चितवनको पर्यटकीय नगरी सौराहामा सम्भवतः नेपालमै सबैभन्दा अग्लो राष्ट्रिय झण्डा राखिएको छ। रत्ननगर नगरपालिका वडा नं ६ ले सौराहामा पर्यटकको आकर्षण बढाउन निकुञ्जको प्रवेशद्वारनजिक राष्ट्रिय झण्डा राखेको हो।
३५ फिट उचाइ भएको झण्डा शुक्रबार नगरपालिकाका मेयर नारायण वनले झण्डाउत्तोलन गरेका हुन्। सो अवसरमा उनले कोरोनापछि गति लिन थालेको सौराहामा नेपालकै अग्लो राष्ट्रिय झण्डाले पर्यटकलाई आकर्षित तुल्याउने विश्वास दिलाए। ‘हामीले निकुञ्ज प्रवेशद्वारलाई आकर्षक बनाएका छौँ,’ उनले भने, ‘पर्यटक रमाउने ठाउँमा राष्ट्रिय झण्डा फहराउनुले नेपालको सान झल्किएको छ।’
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले सौराहामा राखिएको नेपालकै अग्लो राष्ट्रिय झण्डाले पर्यटक माझमा एकताको सन्देश प्रवाह गर्ने बताए। वडाध्यक्ष बलराम दाहालले ३५ फिट उचाइ भएको राष्ट्रिय झण्डा सम्भवत नेपालमै पहिलो भएको बताए। ‘सौराहामा पर्यटक आकर्षित गर्ने थुप्रै चिज छन्,’ उनले भने, ‘अब नेपालको झण्डा थपिएको छ।’


























