चितवन असोज १२ । पर्यटन दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा परिवेश चपागाईं प्रथम भएका छन्।
चितवन र नवलपुरका विभिन्न ७ लियो क्लबहरूलाई पछि पार्दै लियो क्लब अफ भरतपुर युथका चपागाईं प्रथम भएका हुन्। ४२औँ विश्व पर्यटन दिवसको अवसरमा लियो क्लब अफ गीतानगरले ‘कोरोनाले थलिएको पर्यटन विकासमा युवा र युवा आवद्ध सामाजिक संस्थाको भूमिका’ विषयमा प्रतियोगीता आयोजना गरेको हो।
प्रतियोगितामा लियो क्लब अफ चितवन पर्साका देवेन्द्र श्रेष्ठ द्वितीय हुँदा लियो क्लब अफ चितवन विरेन्द्रनगरकी अन्जना सिलवाल तृतीय भइन्। प्रतियोगितामा विजयी बन्न सफल प्रतियोगीहरूलाई भरतपुर १३ का वडा अध्यक्ष प्रकाश दवाडी, पर्यटन व्यवसायी एवम् क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेलगायतको उपस्थितिमा नगद र प्रमाण पत्रसहित पुरस्कृत गरिएको हो।
कार्यक्रम संयोजक शान्ति रिमालका अनुसार क्षेत्रीय होटल संघ सौराहाका निर्वतमान अध्यक्ष घिमिरे, संचारकर्मीद्वय अपिल घिमिरे र सविता अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
भरतपुर १३, पृथ्वीनगरको कमल पोखरी तथा दुर्गा मन्दिर परिसरमा भएको कार्यक्रममा लायन्सको जिएसटी कोअर्डिनेटर कमलप्रसाद श्रेष्ठ, लियो क्लब आफ गीतानगरका संस्थापक अध्यक्ष एवम् लयन्स क्लब अफ गीतानगरका संस्थापक अध्यक्ष अशोक कोइराला, लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ बिटुका एक्जुकेटिभ सेक्रेटरी पुरूषोत्तम सुवेदी, एरिया कोअर्डिनेटर विज्ञान पौडेल, रिजन कोअर्डिनेटर दिपेश ज्ञावाली र लियो क्लब अफ गीतानगरका पूर्वअध्यक्षहरूको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो।
लियो क्लब आफ गीतानगरका अध्यक्ष विवेक पोख्रेलले क्लबले निजी तथा सरकारी दुवै क्षेत्रसँग सहकार्य गरेर कार्यक्रम गर्दै आएको बताए। आगामी दिनमा पनि पर्यटकीय गतिविधि र पश्चिम चितवनका पर्यटकीयस्थलहरूको प्रचार प्रसारका लागि निरन्तर काम गर्ने उनले बताए।
सापकोटालाई सम्मान
क्लबले सोही अवसरमा पश्चिम चितवनको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै भरतपुर ६ निवासी देवराज सापकोटालाई सम्मान गरेको छ।
वरण्डाभार क्षेत्रमा हात्ती सयर र ट्रयाकिङ पर्यटनको शुभारम्भसँगै पश्चिम चितवनको पर्यापर्यटन विकासमा नेतृत्व गरेको भन्दै क्लबले विश्व पर्यटन दिवसको अवसर पारेर कदर–पत्रसहित सम्मान गरेको हो।


























