असोज ८ । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई हराएको छ।
आबुधाबीमा बिहीबार राति भएको खेलमा कोलकत्ताले साविक विजेता मुम्बईलाई ७ विकेटले हराएको हो। मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकत्ताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो।
कोलकत्ताको जितमा राहुल त्रिपाठीले अविजित रहदै ७४ रनको अर्धशतकीय इनिङ्स खेले। नितिश राना ५ रनमा अविजित रहे। भेन्कातेश आयरले ५३ रनको अर्धशतकीय इनिङ्स खेले। सुबमन गिल १३ तथा कप्तान इयान मोर्गन ७ रनमा आउट भए। मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो। मुम्बईका लागि क्विन्टन डी ककले ५५ रनको अर्धशतकीय इनिङ्स खेले। कप्तान रोहित शर्माले ३३ रन जोड्दा केइरन पोलार्डले २१ रन जोडे।
इशान किशनले १४ रन जोड्दा कुर्नाल पाण्डयले १२ रन बनाए। कोलकत्ताका लकी फेर्गुसन र प्रसिद्द कृष्णले २/२ विकेट लिए।
यस जितसँगै कोलकत्ताले ९ खेलमा ८ अंक जोडेको छ। कोलकत्ता चौंथो स्थानमा उक्लिएको छ। छैटौं स्थानको मुम्बईले ९ खेलमा ८ अंक जोडेको छ।


























