नारायणगढ, असोज ४ । नारायणगढकाे शहीदचोकमा रहेको महाबौद्ध बचत तथा ऋण सहकारी संस्थाले नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
गत भदौ २५ गतेदेखि सुरू भएको वार्षिक साधारण सभा असोज ३ गते समापन भएको संस्थाका अध्यक्ष ईश्वरीप्रसाद घिमिरेले जानकारी दिए। कोरोना भाइरस संक्रमण जोखिमका कारण एकै दिनमा सकिने साधारण सभा पनि हप्ता दिन लगाएर गर्नुपरेको उनको भनाइ छ। ‘संस्थाका साधारण सदस्यहरूलाई एकैपटक भीड गर्ने वातवारण नहुँदा समय लगाएर सीमित सदस्यहरूको दैनिक उपस्थितिमा सभा सम्पन्न गरेका हौं,’ उनले भने।
गत दुई आर्थिक वर्षदेखि कोरोना भाइरस संक्रमण जोखिमका कारण देशका अन्य क्षेत्रजस्तै सहकारी क्षेत्रमा पनि ठूलो असर पारेको संस्थाले जनाएको छ। तैपनि सहकारीले आफ्ना सेयर सदस्यहरूलाई ऋणको भार कम गर्ने गरी ब्याजदरमा छूट दिएर सेवा सञ्चालन गर्दै आएको संस्थाका प्रबन्धक प्रकाश पाण्डेले जानकारी दिए।
सहकारीमा हाल करिब तीन हजार २०० भन्दा बढी सेयर सदस्य आवद्ध छन्।
पहिलो सेवा केन्द्र विशालचोकमा
नारायणगढको शहीदचोकमा केन्द्रीय कार्यालय रहेको महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको नवौँ वार्षिक साधारण सभाको अवसरमा भरतपुर ११ विशालचोकमा पहिलो सेवा केन्द्र सञ्चालन गरेको छ।
संस्थामा सेयर सदस्यहरूको संख्या थप हुँदै जानु र उनीहरूको सेवा सुविधालाई सहज बनाउने उद्देश्यले पहिलो सेवा केन्द्र स्थापना गरिएको संस्थाका सचिव लक्ष्मणप्रसाद भुसालले जानकारी दिए। आवश्यक परेको खण्डमा जिल्लाको अन्य क्षेत्रमा पनि सेवा केन्द्र बिस्तार गर्दै लैजाने योजना रहेको उनले बताए।


























