काठमाडौं, असोज ३ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानको अपनत्व र सफल कार्यान्वयनका लागि आफ्नो पार्टी गम्भीर रहेको बताएका छन्।
संविधान दिवस अवसरमा आज शुभकामना दिँदै उनले तत्कालीन पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानको कार्यान्वयन गर्ने जिम्मा पनि काङ्ग्रेसकै भएको बताएका हुन्।
‘सङ्घीयता, समावेशिता धर्मनिरपेक्षता जस्ता परिवर्तनका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी बनेको संविधानले वास्तविक परिवर्तनको अनुभूति गराएको छ।’ उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सफल कार्यान्वयन गर्नुको अर्को विकल्प छैन। संविधानको सफल कार्यान्वयनमार्फत देशलाई स्थायित्व र समृद्धिको बाटोमा लैजान नेपालका कम्युनिस्ट पार्टीहरूले सक्दैनन् भन्ने विगतले देखाइसकेको छ।’
देशलाई स्थायित्व र समृद्धिको मार्गका लैजान नेपाली काँग्रेसले मात्रै सक्ने उनको दाबी छ। ‘त्यसका लागि सक्षम र सुदृढ काँग्रेस बनाउनुपर्नेछ। दृढ इच्छा शक्ति र दृष्टिकोणसहितको नेतृत्व काँग्रेसलाई आवश्यक छ। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमार्फत त्यस्तै सक्षम नेतृत्व छान्न पनि म अपील गर्दछु।’ उनले भनेका छन्।


























