असोज ३ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले आज आइतबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
नेपालले अल अमिरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ। नेपाल र ओमानबीचको खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ। घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ। पहिलो भेटमा पराजित नेपाल ओमानविरुद्ध बदला लिने योजनामा रहेको छ।
सिरिज अन्तर्गत गत मंगलबार भएको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो। ओमान भने नेपालविरुद्ध जारी सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ। यस्तै ओमान नेपाललाई लगातार चौंथो भेटमा हराउँन चाहन्छ। लिग-२ को सिरिज अन्तर्गत नै २०२० को फेब्रुअरीमा भएको दुई खेलमा ओमानले नेपाललाई हराएको थियो।
ओमानविरुद्धको खेल नेपालका लागि यस सिरिजको अन्तिम खेल हो। ४ खेलको सिरिजमा नेपालले ३ खेल खेल्दा १ मात्र जित हासिल गरेको छ।
सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। तर, दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो। यस्तै शुक्रबार भएको दोस्रो भेटमा अमेरिकाले नेपाललाई ६ विकेटले हराएको थियो।
लिग-२ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ। ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ। अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
लिग-२ विश्वकप छनोटको एक रुप हो। सात टोली रहेको लिग-२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन्। लिग-२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन्।


























