काठमाडौं, असोज २ । क्षितिज सापकोटाको शब्दमा ‘सुनैको दरबार’ बोलको गीत बजारमा आएको छ। उक्त गीतको म्युजिक भिडियो शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको छ।
भिडियोमा विपिन अधिकारी र लुनिभा तुलाधारको अभिनय छ। पूर्वी नवलपरासीको अमलटारी क्षेत्रमा छायांकन गरिएको भिडियोमा थारु समुदायको जीवनशैली र संस्कृति देखाउन खोजिएको छ। खेतिपाती, माछा मार्ने, घोंगी टिप्नेदेखि थारुका सांस्कृतिक कार्यक्रमसमेतले भिडियोमा स्थान पाएका छन्। थारु समुदायको मुख्य परिकार मानिने घोंगी पकाएको र खाएको दृश्यमा विपिन र लुनिभाको गज्जवको अभिनय देख्न सकिन्छ। रंगमञ्च हुँदै नेपाली फिल्मी क्षेत्रमा स्थापित यी दुवै कलाकार फरक र जीवन्त अभिनयका लागि चिनिन्छन् । जसलाई यो म्युजिक भिडियोमा पनि उनीहरुले कायम राखेका छन्।
भिडियोको निर्देशन युवराज वाइबाले गरेका हुन्। गीत गत वर्ष नै रेकर्ड भए पनि कोरोना महामारीका कारण म्युजिक भिडियो छायांकनमा ढिलाइ हुँदा यतिखेर मात्रै सार्वजनिक गर्न सकेको निर्देशक वाइबाले बताए। ‘संक्रमणको जोखिम रहेकोले बेलैमा छायांकन गर्न सकेनौं। यसकारण पनि केही ढिलो गरी गीत बजारमा आएको हो,’ वाइबाले भने, ‘थारु जनजीवन झल्किने कथा बुनिएकोले पनि लोकेसन, कलाकार तथा निर्माण टोली सबैको समय व्यवस्थापन गर्नुपर्ने थियो। यद्यपि ढिलो भए पनि राम्रो कथालाई दृश्यांकन गर्ने कोशिष गरेका छौं।’ म्युजिक भिडियोमा निषल पौडेलको छायांकन र विकास दाहालको सम्पादन छ।
गीतमा प्रमोद खरेल र अस्मिता अधिकारीको स्वर छ। दीपकराज विश्वकर्माले संगीत र पुश्कर सुनुवारले संगीत संयोजन गरेका छन्। ‘विशुद्ध माया-प्रेम झल्किने युगल गीत कम्पोज गर्ने सोच थियो। जसरी क्षितिजजीले गहिरो शब्द लेख्नुभएको छ, त्यसलाई न्याय गर्न सफ्ट मेलोडीमा कम्पोज गर्न खोजिएको हो,’ विश्वकर्माले भने, ‘अब श्रोता-दर्शकको प्रतिक्रियाको प्रतिक्षामा छौं।’
सापकोटा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन्। यद्यपि नेपाली गीत-संगीत क्षेत्रमा निरन्तर जोडिँदै आएका छन्। ‘अहिले जुनसुकै मुलकमा पनि नेपालीको उपस्थिति बाक्लो भइसकेको छ। नेपालबाहिर रहँदा पनि हामीलाई घर-देशसँग जोड्ने मुख्य सेतु गीत-संगीत नै बनेको छु। यसकारण पनि म यसमा आवद्ध छु,’ सापकोटाले भने, ‘गीत-संगीतप्रतिको व्यक्तिगत लगाव पनि अर्को प्रमुख कारण हो।’ सापकोटाको शब्द, स्वर र संगीतमा यसअघि नै करिब एक दर्जन गीत सार्वजनिक भइसकेका छन्। जसमा किराना पसल-१, किराना पसल-२, भुल, निम्तो, सिरुपाते कम्मर, नसोध कोहीलगायत छन्।


























