जलेश्वर, असोज २ । औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
गएराति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरुको साथबाट रु १००० हजारका २२ थान, रु ५०० का तीन थान, रु १०० का २७ थान, रु ५० का छ थान, रु २० का आठ थान, रु १० का ११ थान, रु ५ का छ थान र भारु १००का तीन थान नोट बरामद गरेको थियो। पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ। रासस
Facebook Comments


























