असोज २ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजबाट राष्ट्रिय ’ए’ डिभिजन फुटसल लिग प्रतियोगिता सुरु हुँदैछ।
शनिबार पोखराको बहुउद्देशीय कभर्डहलमा पहिलो पटक म्याटमा ए डिभिजन फुटसल आयोजना हुन लागको हो। यसअघि एन्फाले आर्टिफिसियल टर्पमा प्रतियोगिता गराएर म्याटमा छनोट खेल खेल्न जाने गरेको थियो।
लिगको उद्घाटन खेलमा आज द राइजिङ क्लब धरान र स्काई गोल काठमाडौँबीच प्रतिस्पर्धा हुनेछ। आजै हुने दोस्रो खेलमा स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। १० टोली सहभागी फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ। म्यान अफ दि म्याचले ५ हजार पाउने छन्।
कर्मा छिरिङ शेर्पाको नेतृत्वमा कार्यसमिति आएपछि एन्फाले आयोजना गरेको यो पहिलो फुटसल लिग हो। यसअघि एन्फाले एएफसी फुटसल छनोटमा सहभागी हुन खुल्ला छनोट गरेर खेलाडीलाई इरान लगेको थियो।
चेन्ज एन्फा, सामुहिक एकता, विकेन्द्रीकरण, आर्थिक पारदर्शितालगायत मुद्दासहित एन्फाको नेतृत्वमा आएका कर्मा छिरिङले सुरुमा आफूनिकट रहेका दावा लामालाई फुटसल कमिटी संयोजक नियुक्त गरेका थिए।
तर पछि वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको रोहबरमा आफू विरोधी कार्य गरेको भन्दै कर्माले दावाको संयोजक पद खोस्दै आफूनिकट रहेका रत्नकुमार श्रेष्ठलाई संयोजक नियुक्त गरेका थिए। एन्फाले यो प्रतियोगिताबाट एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिताका लागि खेलाडी छनोट गर्नेछ।


























