काठमाडौं, भदौ ३१ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने बताएका छन्। बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै सुदृढ संगठन बनाउन १० बुँदे कार्यान्वयन हुने प्रष्ट पारेका हुन्।
‘संगठनलाई व्यवस्थित बनाउन जरुरी छ। हामीले भीड होइन शक्ति खोजेका हौं। पार्टीभित्रको सुदृढ एकतालाई ध्यान दिन जरुरी छ। पार्टीको पक्षमा दृढतापूर्वक उभिनुपर्छ। गुटबन्दीमा लागेर पार्टी कमजोर बनाउने, अनास्था फैलाउने, गुटगत गतिविधि स्वीकार्य छैन। एकता मजबुत बनाउन १० बुँदे सहमति गरिएको हो। प्रतिबद्धताबाट नेतृत्व किञ्चित पछि हट्दैन। सुझाव कार्यान्वयन गर्ने हाम्रो प्रतिबद्धता हो,’ उनले भने।
पोखरेलले जेठ २ लाई दुई हिसाबले बुझ्न आग्रह गरे। ‘यसलाई पोलिटिकल सेन्समा बुझ्न जरुरी छ। कानुनी रुपमा पनि जरुरी छ। आजको एमाले २ जेठमात्र होइन एकीकृत, एकता प्रक्रियासहितको एमाले हो,’ उनले भने, ‘२ जेठमात्र भन्ने हो भन्ने विकसित, परिवर्तित, एकता प्रक्रियासहितको एमाले हुँदैन। त्यसैले आजको एमाले एकता प्रक्रियासहहितको एमाले हो। यो बुझ्न जरुरी छ।’


























