नारायण ढुङ्गाना, गणेशेबगर (हेलम्बु), भदौ ३० । हेलम्बु डाँडाको फेदमा कच्ची सडक छेउ बस्ने ५२ वर्षीया ङाजु तामाङका आँखा हेलम्बु पहाडझैँ रसाइरहन्छन्।
मेलम्ची पहाड यो बर्खा निकै रसायो। थन्किएजस्तो अझै देखिँदैन, चिस्यान बगिरहेकै छ। त्यही पहाडको रसायनले कमेरे माटोको लेदो बोकेर बगेजस्तै ङाजुका आँखा रसाइरहन्छन्। हेलम्बु पहाडले जस्तो ङाजुका आँसुले कसैको बित्यास पारेको भने छैन। बरु दिनदिनै आफ्नै आँत भने सुकाएको छ।
करिब सय मिटर तल मेलम्ची बगिरहेको छ। यसो हेर्दा लाग्छ मेलम्ची रिसाएको छ। पहिलेभन्दा फरक रङ तर तेजमा बग्दै छ मेलम्ची। छेउछाउका पहरा, लहरा, झार, बुट्यान अनि गेग्र्यानको लेदो मात्र होइन मेलम्चीले वरपरका घर बस्ती र मानिसलाई नै आफैसँग लगेर गयो यसले। हेलम्बु पहाड फेदमा रहेको गणेशेबगरको सिङ्गो बस्ती मेलम्चीले आफूसँगै कहाँ पुर्यायो कुनै अत्तोपत्तो छैन। करिब ४३ घरको त्यो बस्ती एकै मेसोमा बगर बने। अहिले त्यहाँ एकाध घरका अवशेष देखिन्छन्, तर बस्ती बगरमा परिणत भएको छ।
बगरबीचमा ढलेर आधा पुरिएको पहेँलो रङको घर ङाजुको थियो। घर पुरेको महिना दिन बढी बितिसकेको छ तर उनी त्यो घर ठाडिइहाल्छ कि भन्ने आशले हरेक दिन त्यही ढिस्कोमा हेर्न पुग्छिन्। ढलेको घर के उठ्थ्यो रु उठ्दैन। उनको मनले पत्याउन भने मानेको छैन।
ङाजुजस्तै आफ्नो घर पहिलेजस्तै उठिदिएहुन्थ्यो भन्ने सपना सबै स्थानीयवासी देख्छन् र बिहान बेलुकै घरको निशाना रहेको बगरको परिक्रमा गर्ने गर्छन्। वरपरको वातावरण उस्तै उराठ र सुनसान छ। आवाज छ त त्यही मेलम्चीको एकोहोरो सुस्साहटको। कति मेहनतले सिङारेको घर भक्लक्क ढालेर बगरले पुर्दा उनको अझै आँसु थामिएको छैन। “सर्वस्व गयो मेरो, जे थियो त्यही घर थियो, अब त यही आँशुमात्र बाँकी छ” आँसुका धारसँगै बग्छन् उनका शब्द पनि। कोही नयाँ व्यक्ति पुगेर केही सोध्यो कि मनको घाउ बल्झाउन आएजस्तो लाग्छ ङाजुलाई। मन नलागे पनि यसरी आफ्ना व्यथा पोखेको दुई महिनाभन्दा बढी भयो।
सात जनाको परिवार उहाँका श्रीमान् कामी तामाङको दाजुभाइको गरेर ६० मुरी धान फल्ने खेत पनि सँगै थियो। घर छेउमै धान कुट्ने मिल थियो। आर्थिक रूपले सम्पन्न र सुखी थियो ङाजुको परिवार। असार १ को बाढी घरमा पस्यो, छिमेकका केही घर बगेका थिए। अविरल वर्षा निरन्तर रहँदा असार १७ मा उर्लिएको मेलम्चीले मिलसमेत बगाएपछि ङाजु परिवारको बासै उठ्यो।
“एउटा घर बगाएर कहाँ लग्यो थाहा छैन, अर्को एउटा बगरमा पल्टिएर बसेको छ। मिलबाट निकालेको थोरै चामलले केही दिन जीवन धानियो, अहिले दाताको भरमा चुलो बन्दै छ”, आँसु पुछ्दै उनले दुःख सुनाइन्। मुरीकामुरी धान, मकै र चामलका बोरा सबै मेलम्चीले निल्यो। अहिले त अन्नको सग्लो दाना देख्दा पनि उहाँको आँखा थप रसाउँछन्।
परेको बेला अरूलाई सहयोग गर्ने ङाजु अचेल कसले दुई छाक टारिदेला भन्ने आशमा छिन्। कोही नयाँ मान्छे गाउँमा देखियो भने केही ल्याइदिए की भन्ने आशले अगाडि पुग्छिन्। घर खेतै लगेका यहाँका धेरै सम्पन्न भनिएका मानिस पनि सुकुम्वासी बनेका छन्। विपद्ले धनी गरिब नभन्ने रहेछ। जसको घर ठिक छ पूरै पनि खोतलेर बस्न लायक बनाउन सकिन्छ। बनाउन थालेका पनि छन्। जसको घर नै बगाएर बगर बनेको छ उसलाई ठूलो चोट छ।
उनको घर खोलाको छेउमा भएर बगेको पनि थिएन। खोला अतिक्रमण गरेर बनाइएको पनि होइन। खोला निकै तल घरबाट देखिँदैन थियो। एक्कासि मेलम्ची उर्लेर यसरी माथि आयो की झोलुङ्गे पुलको समेत नाम निशान नै मेटेर लग्यो। अघिल्लो दिन चामल अलिकति निकालेका थिए। मिल र घट्ट उप्काएर राखे, त्यही चामलले सुरुको समयमा छाक टार्यो।
केही माथि संस्थाले बनाइदिएको अस्थायी टहरामा बसेर उहाँको परिवार अहिले गुजारा गर्दैछन्। उनले थपिन्, “सङ्घ संस्थाले खाना दिएको छ, त्यही खाएर बस्ने बसिराछौँ, दाताको सहयोग आएन भने भोकै बस्नुपर्छ।” बाँकी भएको बाँदर खेल्ने पखेरोमा अन्न फल्दैन। अब कसरी जीवन गुजारा गर्ने भन्ने चिन्ताले उनलाई सताएको छ।
घर बगाएको ठाउँबाट तल गहिरोमा थियो खोला। घरबाट खोला हेर्न सकिँदैन थियो। त्यहाँ ठूलो फाँट पनि थियो। सबै बगर बनेको छ। अस्तिसम्मको घर बस्तीबाटै मेलम्ची आफ्नै तालमा मस्त कुदिरहेको छ। बाढी आएको दिन गाउँमा रोपाइँ थियो। ङाजु रोपाइँ सकेर घर फर्कँदै थिइन्। उनका अनुसार आउँदाआउँदै उतिसलगायतका रुख निकै ठूलो आवाजका साथ गर्लम्मै ढले। कहाँ के भयो रु केही पत्तो भएन। तर एकैछिनमा हेर्दा त माथिको माछा फार्म बगाइसकेको रहेछ। अनि मान्छेको भागभाग भयो। बल्लतल्ल ज्यान जोगियो उनले सम्झिइन्।
गणेशे बगरका स्थानीय राम तामाङका अनुसार असार १ गते साँझ ७ बजे बाढी आएको थियो त्यस दिन खोला छेउका केही घर लग्यो। पछि १६ गतेदेखि परेको भीषण वर्षाले १७ गते साँझ एक दुई घर मात्रै बाँकी राखेर अन्य ४३ घर लग्यो। त्यसपछि बनेको यहाँको अस्थायी टहरामा तीन समूहमा बाढीपीडित बस्दै आएका छन्। सबै मेसमा खाना खान्छन्।
उनीहरूले सरकारसँग सबै स्थायी बासको माग गरिरहेका छन्। “बरु एकीकृत बस्ती बनाइदिए हुन्थ्यो, भाडाको जग्गामा यसरी कति दिन बस्ने”, राम तामाङले रासससँग भनिन्। दिनमा बाढी आएकाले मात्रै त्यहाँ मान्छे जोगिएको उनीहरू सुनाउँछन्। केही अघि उक्त बस्तीको स्थलगत निरीक्षण गरेर फर्कनुभएका गृहमन्त्री बालकृष्ण खाँडले उनीहरूको पुनर्वासका लागि तत्काल व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन पनि दिएकाछन्।
यसपालि औसतभन्दा बढी नै वर्षा हुँदा सिन्धुपाल्चोकसहित मुलुकका ७१ जिल्ला प्रभावित भएको छ। जेठ ३० गतेदेखि देशैभरि मनसुन सक्रिय भएको थियो । त्यसको अर्को दिनबाटै भारी वर्षा सुरु भई जनजीवन प्रभावित बनायो।
सुरुआती वर्षाले मनाङ र सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो जनधनको क्षति गरायो। असार १ र असार १६ गते पुनः भारी वर्षा हुँदा सिन्धुपाल्चोकमा दोहोरिएर क्षति भएको हो।
गृह मन्त्रालयबाट प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा अहिलेसम्म छ जनाको मृत्यु भएको छ भने २० बेपत्ता छन्। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालका अनुसार नगर क्षेत्रका २४७ घर बाढीले बगाएको छ। कूल एक हजार ७०० रोपनीभन्दा बढी जमिन लगेको छ। उनले जग्गामा मात्रै तीन अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको सुनाइन्।
यसपालि मेलम्चीको माथिल्लो हेलम्बु क्षेत्रमा खोला किनार कटान गर्दै र पहिरो खस्दै गेगरसहितको अकल्पनीय बाढीले तल्लो तटीय क्षेत्रलाई नराम्ररी प्रभावित बनाएको हो। अझै लाखौँ टन गेगर अड्किएर बसेकाले तल्लो क्षेत्रमा जोखिम कायमै छ।
उता जिल्लाको हेलम्बु गाउँपालिकाको प्रारम्भिक विवरणमा २२७ घर बगेको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। कूल दुई हजार १०० रोपनी बढी जग्गा लगेको छ। बाढी, पहिरो र डुबानबाट यो वर्ष १३१ जनाको मृत्यु भएको छ भने ४२ जना हराइरहेका छन्। रासस


























