भदौ ३० । च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा बार्सिलोनाले स्तब्धपुर्ण नतिजा ब्यहोरेको छ।
मंगलबार राति बार्सिलोना घरेलु मैदानमा जर्मन क्लब बायर्न म्युनिखसंग ३–० ले पराजित बनेको हो। बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे।
खेलमा अग्रता बायर्नले ३४ औं मिनेटमा मुलरको गोलबाट लिएको थियो। लिरो सानेले उपलब्ध गराएको पासमा मुलरले गोल गरेका थिए। मुलरले बार्सिलोनाविरुद्ध करियरको सात गोल पुरा गरे।
दोस्रो हाफमा दुई गोल लेवान्डोस्कीले गरे। उनले ५६ औं मिनेटमा बायर्नको अग्रता दोब्बर बनाएका थिए। खेल सकिन एक मिनेट अघि लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३–० को शानदार जित दिलाए।
लियोनल मेस्सीबिना पहिलो पटक मैदान उत्रिएको बार्सिलोनाले स्तब्धपुर्ण नतिजा ब्यहोरेको छ। समूह इको खेलमा जर्मन क्लब बायर्नले शानदार सुरुवात गरेको छ। समुहमा बेन्फिका र डायनामो किभ छन्। दुवैले मंगलबार राति गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन्। एजेन्सी


























