भदाै २९ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
नेपालले अल अमिरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ। नेपाल र ओमानबीचको खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ। घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल जितको लक्ष्यमा हुनेछ। पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ। सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।
तर, बलियो टिम ओमानविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन। घलु टिमले पछिल्लो समय उत्कृष्ट खेलिरहेको छ। ओमान लिग-२ को शीर्ष स्थानमा रहेको टिम समेत हो। ओमानले १० खेलमा १६ अंक जोडेको छ। नेपाल ५ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
लिग-२ विश्वकप छनोटको एक रुप हो। लिग-२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन्। लिग-२ को शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन्। लिग-२ को सिरिज अन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो। दुबै खेलमा नेपाल पराजित भएको थियो।
टियु क्रिकेट मैदानमा २०२० को फेब्रुअरी ५ मा भएको खेलमा नेपाललाई ओमानले १८ रनले हराएको थियो। त्यस्तै ९ फेब्रुअरीमा भएको दोस्रो भेटमा ओमानले नेपाललाई ८ विकेटले हराएको थियो।


























