भदौ २७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देशका १६५ निर्वाचन क्षेत्रबाट ४१२५ जना प्रतिनिधिले भाग लिनेछन्। आगामी मंसिर ९ देखि १३ गतेसम्म हुने महाधिवेशनमा समानुपातिक समावेशी समूहबाट निर्वाचित भएर आउने प्रतिनिधिहरुबारेसमेत टुंगो लागेको छ।
कांग्रेस केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालका अनुसार कुल प्रतिनिधिमध्ये ६० प्रतिशत खुल्ला प्रस्प्रिर्धाबाट चयन हुनेछन् भने ४० प्रतिशत समानुपातिक समावेशी कोटाबाट चयन हुनेछन्। खुला प्रतिस्पर्धाबाट २४७५ जना र समानुपातिक कोटाबाट १६५० जना प्रतिनिधि चयन हुनेछन्।
समानुपातिक कोटाको पनि प्रतिशत टुंगो लगाइएको छ। डा. रिजालका अनुसार आदिवासीबाट ४९८ (३०.२ प्रतिशत) जना, मधेहीबाट २२७ (१३.८ प्रतिशत) , दलितबाट २३२ (१४.१ प्रतिशत), थारुबाट ९४ (५.७ प्रतिशत), मुस्लिमबाट ७२ (४.४ प्रतिशत) र खश आर्यबाट ५२७ (३१.९ प्रतिशत) जना प्रतिनिधि चयन हुनेछन्।
यस्तै १३०४ जना (३१.६ प्रतिशत) महिलाले महाधिवेशनमा भाग लिने छ। खुल्ला महिलाबाट ६६० र समानुपातिक कोटाबाट ६४४ जना महिला प्रतिनिधि चयन हुनेछन्।
महाधिवेशनमा विदेशस्थित जनसम्पर्क समिति तथा भातृ संस्थाबाटसमेत महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले त्यो संख्याबारे भने टुंगो लागेको छैन।


























