काठमाडौं, भदौ २७ । सभामुख अग्नि सापकोटाले एमालेका प्रमुख सचेतकहरुसँग छलफल गरेपछि आइतबार दोस्रो पटक सुरु भएको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुले अवरोध थरेका छन्। उनीहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन्।
पार्टी फुटाउने षडयन्त्र मुर्दाबादको नारा लगाउँदै उनीहरुले नाराबाजी गरिरहेका छन्। एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले लगातार बैठक अवरोध गर्दै आएको छ।
एमालेले बैठक लगातार अवरोध गरेपछि आइतबार सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेका थिए। सो छलफलमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए। तर, सो छलफलमा निस्कर्ष ननिस्केपछि एमालेले बैठक अवरोध जारी राखेको हो।
आइतबार पहिलो पटक बसेको बैठकमा एमालेको अवरोधपछि सभामुखले केही समय बैठक स्थगित गरेर एमालेसँग छलफल गरेका थिए।


























