भदौ २३ । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो टिमको प्रशिक्षणमा सामेल भएका छन्। युनाईटेडमा अनुबन्ध भएपछि रोनाल्डो पहिलो पटक टिमको प्रशिक्षणमा जोडिएका हुन्।
युनाईटेडले मंगलबारबाट रोनाल्डो टिमको प्रशिक्षणमा सामेल भएको जनाएको छ। रोनाल्डो गत शुक्रबार इंग्ल्यान्ड आईपुगेका थिए। पोर्चुगलले रिलिज गरेपछि रोनाल्डो इंग्ल्यान्ड आएका हुन्। इंग्ल्यान्ड आएर क्वारेन्टिनपछि रोनाल्डो टिमको प्रशिक्षणमा सामेल भएका हुन्।
३६ वर्षीय रोनाल्डोले युनाईटेडसँग दुई वर्षको सम्झौता गरेका छन्। रोनाल्डो १२ वर्षपछि युनाईटेड फर्किएका हुन्। यस अघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए। उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए।
त्यस समय उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए। पाँच पटकको बालोन ‘डी’ ओर विजेता रोनाल्डो इंग्लिस क्लब छाडेर स्पेनिस क्लब रियल मड्रिड गएका थिए। रोनाल्डो २००९ मा स्पेनिस क्लब आएका थिए। रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए।


























