भदौ २२ । ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज मंगलबार पपुवा न्युगिनी (पीएनजी) सँग पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ।
दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो। दोस्रो खेल भने शुक्रबार हुनेछ। नेपाल र पीएनजीबीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ। खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो।
नेपालले १९ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो। नेपालले पछिल्लो पटक लिग–२ अन्तर्गत अमेरिकासँग २०७६ को माघ २९ मा टियु क्रिकेट मैदानमा खेलेको थियो।
नेपाल र पीएनजीबीच पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय खेल हुन लागेको हो। यस अघि नेपाल र पीएनजीले एकदिवसीय फर्म्याटमा ४ खेल भने खेलेको छ।
पछिल्लो तथ्यांक हेर्दा नेपालले एकदिवसीयको ४ भेटमा पीएनजीमाथि एक मात्र जित निकालेको छ। नेपालले सन् २०१८ को मार्चमा पीएनजीलाई हराएको थियो। जिम्बावेमा भएको विश्वकप छनोटमा नेपालले पीएनजीमाथि ६ विकेटको जित निकालेको थियो।
त्यसअघि सन् २००५ फेब्रुवरीमा भएको पहिलो भेटमा नेपाल पीएनजीसँग ७० रनले पराजित भएको थियो। यस्तै २०१५ मा युएईमा भएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले दुई खेल खेलेको थियो। पहिलो खेलमा नेपाल २ विकेट र दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो।


























