काठमाडौं, भदौ १६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन्। बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका हुन्।
आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौँमा हुने कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरे उनी दोस्रो नेता हुन्। यसअघि उपसभापति विमलेन्द्र निधिले पनि सम्पर्क कार्यालय स्थापना गर्दै सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका थिए।
सभापतिको उम्मेदवारी घोषणा गर्दै गुरुङले आफू युवाहरुको नेतृत्व गर्दै सभापतिको उम्मेदवार बन्ने बताए। उनले पार्टीमा युवाहरुलाई अगाडि ल्याउनुपर्छ भन्ने मान्यताका साथ आफू उम्मेदवार भएको बताए।
उनले २०४८ मा जुन नेता नेतृत्वमा थिए, अहिले २०७८ मा पनि उनीहरु नै नेतृत्वमा देखिएको भन्दै अब नयाँ नेतृत्व आउनुपर्छ भनेर आवाज उठेपछि आफू उम्मेदवार बन्न लागेको बताए। उनले युवा पुस्ता नेतृत्वमा आउनुपर्ने बताए।
गुरुङको उम्मेदवारी घोषणासँगै आसन्न महाधिवेशनमा नेविसंघका तीन पूर्व अध्यक्षहरु पार्टी सभापतिको प्रतिस्पर्धामा उत्रिने लगभग पक्का भएको छ।
सभापति शेरबहादुर देउवा नेविसंघा अध्यक्ष हुँदै पार्टी राजनीतिमा क्रियाशील भएका थिए। देउवाले सभापति उम्मेदवार बन्ने औपचारिक घोषणा नगरे पनि उनले आफू निकट नेताहरुसँग सभापतिको उम्मेदवार बन्ने बताइसकेका छन्।
औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका निधि पनि नेविसंघको अध्यक्ष बनेका थिए। गुरुङ पनि नेविसंघको अध्यक्षबाट पार्टी राजनीतिमा आएका हुन्।


























