भदौ १५ । फ्रान्सेली प्रशिक्षक थिएरी हेनरी बेल्जियम राष्ट्रिय टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन्। हेनरी सन् २०२२ को विश्वकप सम्मका लागि बेल्जियम टिमको सहायक प्रशिक्षक नियुक्त भएका हुन्।
बेल्जियम फुटबलले हेनरीलाई कोचिङ स्टाफ नियुक्त गरिएको जनाएको छ। अब हेनरी मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजको सहायकको रुपमा बेल्जियमको टिममा काम गर्ने छन्।
हेनरी युरोकप फुटबलमा समेत बेल्जियमको सहायक प्रशिक्षक रहेका थिए। बीबीसीको फुटबल पण्डितको रुपमा काम गर्दै आएका हेनरी राजीनामा दिएर बेल्जियम टिमको प्रशिक्षक टोलीमा आबद्द भएका हुन्।
फ्रेन्च क्लब मोनाकोका पूर्व प्रशिक्षक समेत रहेका हेनरीले यस अघि पनि बेल्जियमको सहायक प्रशिक्षक भएर काम गरिसकेका छन्। आर्सनलका पूर्व स्ट्राइकर हेनरी २०१६ देखि १८ को विश्वकपसम्म बेल्जियमको सहायक प्रशिक्षक रहेका थिए। ४४ वर्षीय हेनरीले मोनाकोबाट बर्खास्तमा परेपछि अमेरिकी मेजर लिग क्लब मोन्टरियलको मुख्य प्रशिक्षक भएर काम गरेका थिए।


























