चितवन, भदौ १२। लामो समयको प्रयासपछि भरतपुर महानगरपालिकाको वडा नं.२९ मा कविलास स्वास्थ्यचौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्रको भवन शिलान्यास गरिएको छ। शनिबार महानगरप्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरीलगायतको उपस्थितिमा स्वास्थ्यचौकी भवनको शिलान्यास गरेकी हुन्। तोकिएकै समयभित्र निर्माण सम्पन्न गरी स्वास्थ्य सेवा संचालन गर्न महानगरले आग्रह गरेको छ। महानगर प्रमुख दाहालले भरतपुरको हिल स्टेसनको रूपमा परिचय बनाउँदै गएको पहाडी भूगोल समेटिएको वडाको विकासमा आफू सधैं केन्द्रित रहेको बताइन्।
यस क्षेत्रका बाटोघाटो निर्माण, शुद्ध पिउनेपानी, सिंचाइका साथै शिक्षा स्वास्थ्य, कृषि र पर्यटन विकासका क्षेत्रमा उल्लेख्य काम भइरहेको उनले दाबी गरिन्। ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ निर्माण तथा सञ्चालन गर्दै आएको बताउँदै उनले भनिन्, ‘आवश्यकताका आधारमा यसको संख्या थपिँदै जानेछ।’ वडा नं. २९ को भूभाग संवेदनशील तथा जोखिम रहेको हुँदा विशेष तरिकाले यस क्षेत्रको विकास गर्नुपर्ने उनको भनाइ छ।
कार्यक्रममा उप–प्रमुख पार्वती शाह ठकुरीले निर्माणाधीन स्वास्थ्य चौकी भवनको निर्माण सम्पन्न भएपछि साविकको कविलास गाविसभित्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताइन्। शिलान्यास कार्यक्रममा वडा नं। २९ का अध्यक्ष मनबहादुर रानामगर, महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत भोजराज खतिवडा, भरतपुरमहानगरपालिका जन स्वास्थ्य महाशाखा प्रमुख दिपक सुवेदी, नेकपा माओवादी केन्द्रका वडा इन्चार्ज गोपाल कुँवरलगायतको उपस्थिति थियो।
कूल ६९ लाख ५० हजारको लागतमा निर्माण हुन लागेको कविलास स्वास्थ्य केन्द्र ४ कोठाको हुनेछ भने पुस मसान्तभित्र निर्माण सम्पन्न गरी सेवा सञ्चालनमा आउनेछ।


























