भदौ ११ । युवा फरवार्ड केलियन एमबाप्पे अनुबन्धको लागि रियल मड्रिडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग दोस्रो पटक प्रस्ताव राखेको छ।
रियलले फ्रेन्च फरवार्ड अनुबन्धका लागि १ सय ७० मिलियन युरोको दोस्रो प्रस्ताव गरेको स्काई स्पोर्ट्सले जनाएको छ। यस्तै १० मिलियन बोनसको ग्यारेन्टी समेत गरिएको बताईएको छ।
यस अघि रियलले १ सय ६० मिलियन युरोको आधिकारिक प्रस्ताव गरेको थियो। तर, रियलको पहिलो प्रस्ताव पीएसजीले अस्विकार गरेको थियो। स्पेनिस जाइन्ट रियल एमबाप्पे अनुबन्धको लागि निकै प्रयास गरिरहेको छ। पीएसजी भने तत्काल एमबाप्पे नबेच्ने योजनामा रहेको बताईएको छ।
पीएसजीसँग एमबाप्पेको सम्झौता अर्को वर्षसम्म रहेको छ। उनले सम्झौता थप गरेका छैनन्। पीएसजीले हालै लियोनल मेस्सी अनुबन्ध गरेको छ। र, एमबाप्पेलाई समेत क्लबमै राख्न चाहन्छ।
२२ वर्षीय फरवार्डले पीएसजीका लागि यस सिजन ३ खेलमा १ गोल गरिसकेका छन्। एमबाप्पे २०१७ मा मोनाकोबाट पीएसजी आएका थिए। एक सिजन लोनमा खेलेका एमबाप्पे २०१८ मा स्थायी खेलाडीको रुपमा अनुबन्धित भएका थिए।
पीएसजीका लागि उनले १ सय ७४ खेलमा १ सय ३३ गोल गरेका छन्। विश्वकप विजेता एमबाप्पेले पीएसजीका लागि ३ लिग वन उपाधि जितेका छन्।


























