चितवन, भदौ ६ । लेखक रामहरि श्रेष्ठको नयाँ पुस्तक ‘भुल्न नसकिएको अतीत’ सार्वजनिक भएको छ।
भरतपुर महानगरप्रमुख रेनु दाहालसहित साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईं र समीक्षक उदय अधिकारीले पुस्तक विमोचन गरेका हुन्। शनिबार भरतपुरस्थित नारायणी नमुना माविमा आयोजित कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो।
कार्यक्रममा बोल्दै भरतपुर महानगरप्रमुख मेयर रेनु दाहालले २०४६ सालको जनआन्दोलनमा सक्रियताका साथ लाग्नुभएका लेखक रामहरि श्रेष्ठले आफूले देखेभोगेका कुरालाई किताबको रूपमा ल्याउनु भएकोमा खुसी व्यक्त गरिन्। प्रहरी हिरासत र जेलभित्र बस्दा भोग्नुपरेका विभिन्न खाले उतारचढावलाई संस्मरणको रूपमा ल्याउनु भएको छ। नगरप्रमुख दाहालले भनिन्- उहाँको पुस्तक एउटा कालखण्डको अभिलेख मात्रै नभएर नयाँ पुस्तालाई समेत प्रेरणादायी हुनेछ।
पुस्तक माथि बोल्दै समीक्षक उदय अधिकारीले श्रेष्ठको यो पुस्तकले जनआन्दोलनलाई दीर्घकालसम्म जीवित राख्न सहयोग गर्ने दावी गरे। पुस्तकमा पन्चायती शासन व्यवस्थाबाट भएका आपराधिक प्रवृति र प्रशासनिक दमनलाई पनि लेखक श्रेष्ठले तथ्यगतरूपमा लेख्नुभएकोले पुस्तक ऐतिहासिक महत्त्वको भएको अधिकारीले बताए।
समीक्षक डिआर पोखरेलले श्रेष्ठको पुस्तकमा आन्दोलन र यातनासँगसँगै आन्दोलनको उपलब्धिका रूपमा प्राप्त भएको संसदीय व्यवस्थालाई पनि राम्रोसँग चित्रण गरिएको बताए। कार्यक्रमका सभापति साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईंले कम्युनिस्ट आन्दोलनमा समाहित एकजना अगुवाको ऐतिहासिक पुस्तक प्रकाशन गर्न पाउँदा खुसी लागेको बताए।
ञपुस्तकमा २०४६ सालको जनआन्दोलनका क्रममा राज्यपक्षद्वारा नियन्त्रणमा लिइएका नागरिकहरूलाई प्रहरीले कतिसम्म वीभत्सपूर्ण र निर्मम यातना दिन्छ भन्ने देखेभोगेका अनुभूतिहरूलाई संस्मरणको रूपमा संकलन गरेको छु। लेखक श्रेष्ठले बताए। कार्यक्रम साहित्य संगम चितवनका कार्यसमिति सदस्य कल्पना आचार्य बस्ताकोटीले सञ्चालन गरेकी थिइन्।
साहित्य संगम चितवनले प्रकाशन गरेको पुस्तकको मूल्य २०० रुपैयाँ छ।


























