चितवन, भदौ ६ । अफगानिस्तानका आक्रामक ब्याट्सम्यान मोहम्मद साहजादले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन्।
३४ वर्षीय साहजादले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएका हुन्। चितवनले आइतबार एक विज्ञप्ति निकाल्दै साहजादलाई अनुबन्ध गरिएको जनाएको छ।साहजाद यसअघि पनि चितवन टाइगर्समा आवद्ध थिए। तर, कोभिड-१९ को कारण ईपीएल स्थगित हुँदा उनी २०१९ मा नेपाल आएर खेल्न पाएका थिएनन्।
‘काठमाडौंमा छक्का वर्षा गर्नलाई आत्तुर छु। नेपालका प्रशंसकहरु विश्वकै धैर्यवान प्रशंसक हुन्। चितवनबाट खेलेर सबैलाई मनोरञ्जन प्रदान गर्न तयार छु,’ सम्झौतापछि साहजादले भनेका छन्।
‘गत वर्ष जहा टुंगिएको थियो, त्यहीबाट साहजादलाई निरन्तरता दिन पाउदा हामी निकै उत्साहित छौं। उनी एक स्थापित अन्तर्राष्ट्रिय क्रिकेटर रहेकाले उनको अनुभवलेटाइगर्सको युवा ब्याटिङ लाइनअपलाई उत्साह र अनुभव प्रदान गर्नेछ,’ चितवनका अप्रेसन डाइरेक्टर विनिता चौधरी भट्टराईले भनिन्।
चितवनबाट पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिश अजिजले समेत खेल्ने छन्। चितवनको कप्तानी नेपाली राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले गर्ने छन्।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्। प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन्।


























