चितवन, भदौ ६ । कवि सुमन घिमिरेका दुईवटा कवितासङ्ग्रह सार्वजनिक भएका छन्। ‘सूनको टप’ र ‘साइक्लोन अफ फायर’ गरि दुई वटा कविता कृति सार्वजनिक भएका हुन्। कवि घिमिरेका बुवा हरिभक्त घिमिरे, आमा गायत्री घिमिरे, छोरीहरू सुरभि र साम्भवीसहित प्रमुख अतिथि प्रतीक ढकाल, युवराज नयाँघरे र एलबी क्षेत्रीले संयुक्तरूपमा कृतिको विमोचन गरेका हुन्।
‘सूनको टप’ नेपाली भाषामा र ‘साइक्लोन अफ फायर’ अङ्ग्रेजी भाषामा प्रकाशित कवितासङ्ग्रह हुन्।
शनिबार सौराहास्थित जंगल सफारी लजमा आयोजित कार्यक्रममा सार्वजनिक भएका पुस्तकहरूमाथि कवि भूपिन र चेतराज रेग्मीले टिप्पणी गरेका थिए। युवापुस्तामा एउटा हस्तक्षेपकारी भूमिकासहित काव्य जगतमा कवि घिमिरेको उपस्थिति देखिएको कवि भूपिनले बताए । अर्का टिप्पणीकार चेतराज रेग्मीले कवि घिमिरेका कवितामा विविधता भएको बताए। रेग्मीले भने- ‘सुमनजी कवि मात्रै नभएर उहाँ पर्यटन व्यवसायी हो, उनका कवितामा जीवन दर्शन सँगसँगै प्रकृतिका शिल्पीहरू पनि बुनिएका छन्।
आफू सरल जनजीवनमा हुर्केबढेकोले आफ्ना कविताहरू पनि त्यही भोगाइ अनुसार सरल भएको कवि घिमिरेले बताए। दुबै पुस्तक गोर्खा पब्लिकेसन्सबाट प्रकाशित भएका हुन्। पछिल्लो दस वर्षका मुलुकका प्रमुख घटनाक्रमलाई कवि घिमिरेले काव्यिक शैलीमा उतारेका छन्। तिनै कविताहरूलाई सङ्ग्रहमा समेटेको कवि घिमिरेले बताए । घिमिरेले भने ‘भूकम्प, नाकाबन्दी, नक्सा विवाद, कोभिड र लकडाउनका बिषयमा लेखिएका कविताहरू यी सङ्ग्रहमा छन्।
ञसूनको टपझमा ४१ वटा र ञसाइक्लोन अफ फायरझमा ३१ वटा कविता छन्। प्रत्येक पुस्तकको मूल्य २९९ रुपैयाँ उल्लेख छ।
कवि घिमिरेका यसअघि मौनता उपन्यास (२०७१) र मेरो बैंशको क्यालेन्डर कवितासङ्ग्रह (२०६८) प्रकाशित छन्। कार्यक्रममा कवि घिमिरेले केही कविताहरू सुनाएका थिए।


























