साउन ३२ । साविक विजेता एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा विजयी सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा सेल्टा भिगोलाई २-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले सुखद सुरुवात गरेको हो।
एट्लेटिकोलाई जित दिलाउन एन्जल कोर्रियाले दुई गोल गरे। सेल्टाका इयागो आस्पसले एक गोल फर्काए। खेलको २३ औं मिनेटमा कोर्रियाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। तर, खेलको ५९ औं मिनेटमा इयागोले पेनाल्टीमा गोल गर्दै सेल्टालाई १-१ गोलको बराबरीमा फर्काए।
त्यसपछि खेलको ६४ औं मिनेटमा कोर्रियाले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए। खेलको इन्जुरी समयमा दुबै टिम १० खेलाडीमा समेटिएको थियो। एट्लेटिकोका मारियो हेर्मोसो र सेल्टाका हुगो माल्लोले रातो कार्ड पाएका थिए।
यस जितसँगै एट्लेटिकोले पहिलो खेलमा ३ अंक जोडेको छ। सेल्टाले भने हार .बाट सिजनको सुरुवात गरेको छ।


























