चितवन, साउन २७ । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा रहेका पाँचवटा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको छ। महानगरपालिकाले नारायणी नमूना मावि भरतपुर १०, प्रभात मावि भरतपुर २५, भीमनगर मावि भरतपुर २०, लक्ष्मी मावि भरतपुर २३ र कविलास मावि भरतपुर २९ लाई बस हस्तान्तरण गरेको हो।
महानगर प्रमुख रेनु दाहालले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरुलार्ई बसको साँचो हस्तान्तरण गरेकीहुन्।
सो अवसरमा महानगर प्रमुख दाहालले शैक्षिक क्षेत्रको विकासका लागि महानगर लागिपरेको बताइन्। उनले भनिन्, “विद्यालयको शैक्षिक विकाससँगै भौतिक विकासका लागि महानगरपालिकाले काम गरिरहेको छ।” शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने जिल्लाको पहिलो स्थानीय तह भएको उनको भनाइ थियो। महानगरलाई स्वास्थ्य क्षेत्रको हबका रुपमा विकास भए जस्तै शैक्षिक क्षेत्रको केन्द्र बनाउने उनले बताइन्।
कार्यक्रममा नारायणी नमूना माविका प्रधानाध्यापक पूर्ण दवाडीले निजी विद्यालयमा जस्तै सामुदायिक विद्यालयमा पनि विद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताए। सामुदायिक विद्यालयमा पनि विद्यार्थीको चाप बढ्दै जाँदा स्कुल बस आवश्यक देखिएकाले महानगरले गरेको सहयोग सराहनीय रहेको उनको भनाइ थियो।
महानगरको शैक्षिक महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार बस खरिदका लागि महानगरले छनोट गरेका विद्यालयहरुले सम्झौता गरी खरिद गरेका हुन्। खरिदका लागि महानगरपालिकाले एउटा बसका लागि रु १९ लाख ९८ हजार बजेट निकासा गरेको थियो। महानगरले बस हस्तान्तरण गरेसँगै सञ्चालन खर्च विद्यालयले बेहोर्नुपर्ने उनले बताए। रासस


























