साउन २५ । जापानको राजधानी टोकियोमा चलेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ। कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिला भएको हो।
जापानले कोरोना महामारीकै बीच ३२औँ गृष्मकालीन टोकियो ओलम्पिक सफलतापूवर्क सम्पन्न गरेको छ। विश्व खेलकुदको कुम्भमेला मानिने ओलम्पिक प्रत्येक चाररचार वर्षमा हुँदै आएकामा यस वर्ष पाँच वर्षमा आयोजना भएको हो। टोकियो ओलम्पिकमा कोरोनाका कारण मैदानमा दर्शकलाई अवलोकनको अनुमति दिइएको थिएन।
टोकियो ओलम्पिकमा कूल २०५ देशका ११ हजार ३०० खेलाडीले भाग लिएका थिए। खेलाडीले कूल ३३ खेलमा ३४० स्वर्ण, ३३८ रजत तथा ४०२ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए।
उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले बोकेका थिए भने समापनमा स्वयंसेवकले बोकेका थिए। टोकियो ओलम्पिकमा ९३ देश पदक जित्न सफल रहे। नेपालसहित ११२ देश पदकविहीन बन्न पुगे। टोकियो ओलम्पिकमा ६५ देशले मात्र स्वर्ण पदक चुम्न पाए।
टोकियो ओलम्पिकमा अमेरिका पदक तालिकाको शीर्ष स्थानमा रहन सफल भयो भने चीन दोस्रो तथा आयोजक जापान तेस्रो स्थानमा रहन पुग्यो । अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित ११३ पदक प्राप्त गर्न सफल भयो।
यस्तै चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक तथा आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक प्राप्त गरेको छ।
यसैगरी पदक तालिकामा बेलायत २२ स्वर्ण, २१ रजत र २२ कास्यसहित चौथो, रसियन ओलम्पिक कमिटी २० स्वर्ण, २८ रजत र २३ कास्यसहित पाँचौँ, अस्ट्रेलिया १७ स्वर्ण, सात रजत र २२ कास्यका साथ छैटौँ, नेदरल्याण्डस् १० स्वर्ण, १२ रजत र १४ कास्यसहित सातौँ, फ्रान्स १० स्वर्ण, १२ रजत र ११ कास्यसहित आठौँ, जर्मनी १० स्वर्ण, ११ रजत र १६ कास्यका साथ नवौँ तथा इटली १० स्वर्ण, १० रजत र २० कास्यपदकका साथ १०औँ स्थानमा रहे।
दक्षिण एशियाली मुलुकमध्ये भारतले एक स्वर्ण, दुई रजत तथा चार वटा कास्य पदक जित्यो। दक्षिण एशियाका अन्य कुनै पनि देशले पदक प्राप्त गर्न सकेनन्। टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्नुभएको थियो।
अरु ओलम्पिकजस्तै टोकियोमा पनि नेपाली खेलाडी सहभागितामै सीमित रहे। पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान बनाए। जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीको प्रदर्शन भने सामान्य रह्यो।


























