साउन २४ । लेष्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ। वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै लेष्टरले उपाधि जितेको हो।
लेष्टरलाई उपाधि दिलाउन केलिची इहिनाचोले निर्णायक गोल गरे। केलिचीले खेलको ८९ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे। सिटीका नाथन एकेले पेनाल्टी क्षेत्रमा केलिचीलाई फाउल गरेपछि लेष्टरले भीएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो। जसमा केलिचीले सहजै गोल गरे।
लेष्टरले दोस्रो पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो। सिटी भने सातौं पटक उपाधि जित्नबाट बन्चित भएको छ। लेष्टरविरुद्धको खेलसँगै मिडफिल्डर ज्याक ग्रेलिसले सिटीका लागि डेब्यु गरेका छन्।
ग्रेलिस खेलको ६५ औं मिनेटमा सामुएलको स्थानमा मैदान प्रवेश गरेका थिए। ग्रेलिस यसै हप्ता एस्टन भिल्लाबाट सिटीमा अनुबन्धित भएका थिए। कम्युनिटी शिल्डको फाइनलमा प्रिमियर लिग विजेता र एफए कप विजेताले प्रतिस्पर्धा गर्ने गर्छन्। लेष्टर एफए कप विजेता र सिटी प्रिमियर लिग विजेताको रुपमा फाइनलमा प्रतिस्पर्धा गरेका हुन्। एजेन्सी


























