साउन २३ । लियोनल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) संग अनुबन्धको नजिक देखिएका छन्। बार्सिलोना छाड्ने निर्णय गरेका मेस्सी फ्रान्सेली क्लब पीएसजीसंग अनुबन्धको नजिक देखिएका हुन्।
३४ वर्षिया फरवार्डले दुई वर्षको सम्झौतामा अर्को हप्ता हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ। कर कटाएर मेस्सीले वर्षको २५ मिलियन पाउण्ड पीएसजीमा कमाउन सक्ने बताइएको छ।
ला लिगा क्लब बार्सिलोनाले नयाँ सम्झौताका लागि असमर्थता जनाएपछि मेस्सी बार्सिलोनाबाट अलग भएका हुन्। वित्तिय र संरचनागत समस्याका कारण क्लबले मेस्सीलाई राख्न नसकेको बताएको छ।
मेस्सीले बार्सिलोना छाड्ने निर्णय गरे लगत्तै पीएसजीले लबिङलाई तिव्रता दिएको छ। मेस्सी पीएसजी आएको खण्डमा बार्सिलोनाका पूर्व सहकर्मी नेयमारसंग उनको पुनर्मिलन हुनेछ।
पीएसजीले मेस्सीलाई अनुबन्ध गर्ने राम्रो अवसरको रुपमा लिएको छ। उनले वित्तिय अनुशासनको नियम नतोडेरै मेस्सीलाई हस्ताक्षर गर्न सकिने विश्वास लिएको छ।
पीएसजीले नयाँ सिजन रियल मड्रिडका पूर्व कप्तान सर्जियो रामोस सहित जियानलुइगी डोनारुम्मा, जर्जिन्हो विजनाल्डमलाई निशुल्क क्लबमा अनुबन्ध गरिसकेको छ।
६ पटकका वालेन डी ओर विजेता मेस्सी गत जुलाई १ बाट फ्रि–एजेन्ट बनेका थिए। सम्झौता नविकरणका लागि क्लब असफल बनेको थियो। बार्सिलोनासंग उनको सम्झौता जुलाई ३० मा सकिएको थियो।
मेस्सीले आफ्नो सम्पुर्ण व्यवसायीक करियर बार्सिलोनामै बिताए। क्लब एकेडेमी ला मासियाबाट आएका मेस्सीले ७ स य ७८ खेलमा ६ सय ७२ गोल गरे। उनले सन् २००३ मा सिनियर टिममा डेब्यु गरेका थिए। एजेन्सी


























