चितवन, साउन १३ । वाग्मती प्रदेश सरकारबाट प्राप्त स्वास्थ्यसामग्री स्वास्थ्य कार्यालय चितवनलाई हस्तान्तरण गरिएको छ। भरतपुरमा आज आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद भूर्तेलले ती सामग्री हस्तान्तरण गरेकाहुन्।
प्रदेश सरकारले १५ वटा अक्सिजन कन्सन्ट्रेटर, सुजकभर, डिस्पोजेबल क्याप, फेससिल्ड, सेफ्टी गगल्स, ऐन ९५ माक्स, ग्लोब्स, गाउन सेट, सेनिटाइजरलगायतका स्वास्थ्यसामग्री उपलब्ध गराएको थियो।
सो अवसरमा प्रदेशसभा सदस्य भूर्तेलले वाग्मती प्रदेश सरकारले चितवन जिल्लालाई विशेष महत्व दिएर स्वास्थ्य सामग्री सहयोग गरेको बताए। जिल्लामा स्वास्थ्य उपचारका लागि विभिन्न जिल्लाबाट बिरामी आउने गरेको बताउँदै उनले भने, “स्वास्थ्य सेवाका हिसाबले चितवन उत्कृष्ट बन्दै गएको छ।” उनले स्वास्थ्य सेवा शहर केन्द्रीत नगरेर जिल्लाका गाउँगाउँमा रहेका स्वास्थ्य संस्थासम्म पुर्याउनुपर्नेमा जोड दिए।
कार्यक्रममा वाग्मती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका निर्देशक वसन्त अधिकारीले प्रदेश सरकारले कोरोनाको तेस्रो लहरको रोकथामको लागि तयारी गरिरहेको बताए। तेस्रो लहरको तयारीस्वरुप सबै प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष र एचडियू विस्तार, पिसिआर मेसिन सञ्चालन, अक्सिन प्लान्ट जडानको काम भइरहेको उनको भनाइ थियो।
सो अवसरमा स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख अमृत महर्जनले प्राप्त सामग्री सातै पालिकामा वितरण गरिने बताए। उनले प्राप्त सामग्रीको उच्चतम सदुपयोग गरिने प्रतिबद्धता व्यक्त गरे। रासस


























