साउन १० । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ुटोकियो ओलम्पिकु जापानमा जारी छ। राजधानी टोकियोमा जारि ओलम्पिकको दोस्रो दिन शनिबार कुल ११ स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा ९ राष्ट्रले स्वर्ण जितेका छन्।
टोकियो ओलम्पिकको दोस्रो दिन २८ राष्ट्रले पदक जित्दा पदक तालिकामा चीनले अग्रता बनाएको छ। चीनले शनिबार ३ स्वर्ण र १ कास्य पदक सहित कुल ४ पदक जितेको छ। चीनकी सुटिङ खेलाडी याङ चियन टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनिन्। महिला १० मिटर एयर राइफलमा स्वर्ण जित्दै याङ टोकियो ओलम्पिकमा स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी हुन्।
इटाली १ स्वर्ण र १ रजत सहित कुल २ पदक जित्दै दोस्रो स्थानमा रहेको छ। आयोजक जापान १ स्वर्ण र १ रजतसहित २ पदक जितेर तेस्रो स्थानमा रहेको छ। जुडोका नओहिसा ताकातोले ६० केजी तौल समूहमा जापानलाई पहिलो स्वर्ण दिलाए। ओलम्पिकको दोस्रो दिन १ स्वर्ण जित्ने अन्य राष्ट्रमा दक्षिण कोरिया, इक्वेडर,हंगेरी, इरान, कोसोभो र थाइल्याण्ड रहेका छन्।
शनिबार नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए। सुटिङ खेलाडी कल्पना परियार र जुडो खेलाडी सोनिया भट्टले प्रतिस्पर्धा गरेका थिए। कल्पनाले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाईन्।
कल्पनाले छनोट चरणमा ६ सय १६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन्। तर, उनी फाइनल चरणमा छनोट हुन सकिनन्।
यस्तै सोनिया पहिलो खेलमै पराजित भईन्। राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन्।
१९ वर्षिया सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भईन्। सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाएकी थिइन्।
टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले सहभागिता जनाएका छन्। अब तीन खेलाडीको प्रतिस्पर्धा बाँकी रहेको छ। एजेन्सी

























