असार ३० । घरेलु टिम इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज क्लिन स्विप गरेको छ। मंगलबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज ३-० ले जितेको हो।
पाकिस्तानले दिएको ३ सय ३२ रनको फराकिलो लक्ष्य इंग्ल्यान्डले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। इंग्ल्यान्डको जितमा जेम्स भिन्सले शतकीय इनिङ्स खेले । पहिलो शतक बनाएका उनले १ सय २ रन बनाए।
यस्तै लेविस ग्रेग्रोरीले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्दा जाक क्रलीले ३९ रन बनाए। फिल साल्टले ३७ र कप्तान बेन स्टोक्सले ३२ रन जोडे।पाकिस्तानका हरिस राउफले ४ विकेट लिए। शादब खानले २ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३१ रन बनाएको थियो।
पाकिस्तानका लागि कप्तान बाबर आजमले १ सय ५८ रनको शतकीय इनिङ्स खेले। मोहमद रिजवानले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा इमाम उल हकले ५६ रनको योगदान दिए।
इंग्ल्यान्डका ब्रेडन कार्सेले ५ तथा सकिब मोहमुदले ३ विकेट लिए। अब इंग्ल्यान्ड र पाकिस्तानबीच तीन खेलको टी-ट्वान्टी सिरिज हुनेछ। पहिलो टी-ट्वान्टी शुक्रबार राति हुनेछ। एजेन्सी


























