असार २४ । जापानको राजधानी टोकियोमा आपतकालिन घोषणाको तयारी गरिएको छ। ओलम्पिक हुनु भन्दा केही दिन अघि जापानले प्रतियोगिता हुने शहर टोकियोमा आपतकालिन घोषणाको तयारी गरेको हो।
आपतकालिन घोषणाको तयारीसंगै ओलम्पिकको दौरान दर्शकलाई मैदान प्रवेश जाने अनुमती दिने सम्भावना कम छ। टोकियोमा पछिल्लो केही दिनयता लगातार बढेको कोरोना संक्रमणका कारण आपतकालिन घोषणाको योजना बनेको हो।
बिहिबार बिहान बिज्ञहरुसंगको छलफलपछि सरकारी अधिकारीले टोकियोमा आपतकालिन घोषणाको प्रस्ताव गरेका छन्। राजधानीमा हुने आपतकाल अर्को सोमबारदेखि अगष्ट २२ सम्म हुने प्रस्ताव छ। कोरोना महामारीकाबीच ओलम्पिक प्रतियोगिता जुलाई २३ देखि अगष्ट ८ सम्म हुने तय भईसकेको छ।
प्रतियोगितामा विदेशी दर्शकलाई सुरुमै प्रतिबन्ध गरिएको थियो। पछिल्लो निर्णयसंगै स्थानीय दर्शक समेत प्रतियोगिता हेर्नबाट बञ्चित हुने देखिएको छ। स्थानीय आयोजकले अन्तराष्ट्रिय ओलम्पिक कमिटी र अन्य सरोकारवाला निकायसंग छलफल गरेर दर्शक प्रवेशको विषयमा औपचारिक निर्णय गर्नेछन्।
कोभिडका कारण ओलम्पिक प्रभावित बन्दै आएको छ। गत वर्षनै हुनुपर्ने प्रतियोगिता कोभिडकै कारण यस वर्ष हुन लागेको हो। मेडिकल विशेषज्ञले केही साता अघि दर्शक विहिन खेल प्रतियोगिता सबैभन्दा कम जोखिम हुने विकल्प हुने सुझाव दिएका थिए। हजारौं खेलाडी तथा अधिकारीको आगमनसंगै कोभिडको संक्रमण बढ्ने आँकलन गरिएको छ।


























