असार २४ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले आज (बिहीबार) राति इंग्ल्यान्ड जाने भएका छन्। द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि सन्दीप बिहीबार राति इंग्ल्यान्ड जाने भएका हुन्।
सन्दीपका म्यानेजर रमण शिवाकोटीले सन्दीप आज राति इंग्ल्यान्ड प्रस्थान गर्ने जानकारी गराए। सन्दीप इंग्ल्यान्ड पुगेपछि १० दिनको क्वारेन्टिनमा बस्ने छन्। यस्तै उनको दुई पटक कोरोनाको पीसीआर प्रशिक्षण हुनेछ। जसमा नेगेटिभ रिपोर्ट आएपछि सन्दीप टिममा सामेल हुनेछन्।
सन्दीपले ओभल इन्भिन्सिबलबाट पहिलो संस्करणको द हन्ड्रेड क्रिकेट खेल्ने छन्। १०० बलको हुने द हन्ड्रेड क्रिकेट जुलाई २१ बाट सुरु हुने तालिका रहेको छ। यस अघि सन्दीपले भाइटालिटी टी- ट्वान्टी ब्लास्ट क्रिकेट भने गुमाएका थिए।
बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी ब्लास्ट गुमाएका हुन्। उक्त प्रतियोगिताका लागि सन्दीप वोर्सेस्टरशायर र्यापिड्समा अनुबन्धित भएका थिए।


























