काठमाडौं, असार १८ । अध्यागमन विभागले कोरोना महामारीको दोस्रो लहरका कारण स्थगित नियमित भिसा सेवा आजदेखि सुचारू गर्ने भएको छ। विभागले गत जेठ ५ गतेदेखि आकस्मिक बाहेकका अन्य सेवाहरु स्थगित गरेको थियो।
बिहीबारबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित भएसँगै भिसा सेवा सुचारु गरेको विभागको भनाइ छ। विभागका अनुसार असार २४ गतेसम्मको निःशुल्क भिसा सेवा नियमित गरिने छ।
साथै, नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्नका लागि विलम्ब शुल्क र जरिवाना नलिई भिसा नियमित गरिने पनि बताइएको छ। असार २४ गतेपछि भने भिसा नियमित गर्न आउनेलाई भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना पनि लाग्ने बताइएको छ।
निषेधाज्ञा अघि पर्यटक भिसामा नेपालमा १५० दिनसम्म मात्र बस्न सकिने व्यवस्था रहेकोमा निषेधाज्ञाका कारण भिसा अवधिको समय बढाइएको छ। अहिले पर्यटकीय भिसामा २१० दिनसम्म बस्न सकिने छ।


























