असार १६ । वेस्ट इन्डिजविरूद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत पाहुना टोली दक्षिण अफ्रिकाले तेस्रो टी-ट्वान्टी क्रिकेटमा रोमान्चक जित निकालेको छ। मंगलबार राति भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १ रनले पराजित गरेको हो।
दक्षिण अफ्रिकाले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो।
वेस्ट इन्डिजका लागि निकोलस पुरण र इभिन लेविसले समान २७/२७ रन बनाए। आन्द्रे रसेलले २५ रन जोड्दा लेन्डल सिमोन्सले २२ रन बनाए। सिमोन हिटमायर १७ रनमा आउट हुँदा जासन होल्डर १६ रनमा पेभेलियन फर्किए। फाबियन एलनले अविजित १४ रन जोडे। दक्षिण अफ्रिकाका एन्रिच नोर्किया र ताब्रेज शाम्सीले २/२ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले ७२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। जितसँगै दक्षिण अफ्रिकाले पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ। एजेन्सी


























