असार १६ । स्विडेनलाई पराजित गर्दै युक्रेन १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो।
स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गरे। स्विडेनका इमिल फोर्सवर्गले एक गोल फर्काए। रोमान्चक बनेको खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयको १ सय २० औं मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २-१ को महत्वपूर्ण जित दिलाए। उनले जिन्चेन्कोको पासमा गोल गरे।
अतिरिक्त समयमा जानु अघि २७ औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाएका थिए। यार्मोलेन्कोको पासमा जिन्चेन्को गोल गरेका थिए। तर, खेलको ४३ औं मिनेटमा फोर्सवर्गले गोल गर्दै स्विडेनलाई १-१ को बराबरीमा ल्याए। उनले इसाकको पासमा गोल गरे।
यस्तै खेलको ९८ औं मिनेटमा स्विडेन १० खेलाडीमा समेटिएको थियो। युक्रेनका अर्टिमलाई खराब ट्याकल गरेपछि मार्कुस डानिलसनले रातो कार्ड पाएका थिए।
जितसँगै युक्रेन क्वाटरफाइनलमा पुग्ने आठौं टोलि बनेको छ। यस खेलसँगै युरोकपको क्वाटरफाइनल समीकरण समेत पूरा भएको छ। स्विडेन भने बाहिरिएको छ। अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। इंग्ल्यान्ड जर्मनीलाई २-० ले हराएर यस अघि नै अन्तिम आठमा पुगिसकेको छ। एजेन्सी
























