काठमाडौं, असार १३ । नेपाली कांग्रेसले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशील सदस्यता वितरणको कामलाई टुंगो लगाउने भएको छ।
आइतबार बसेको पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीहरु सम्मिलित बैठकले समान धारणा बनाएर कांग्रेसले जारी गरेको स्थानीय वडादेखि जिल्ला तहसम्मका अधिवेशन, प्रदेश तहको अधिवेशन र महाधिशन कार्यतालिकाकै समयमा सम्पन्न गर्ने गरी क्रियाशील सदस्यताको काम अघि बढाइएको नेता रमेश लेखकले जानकारी दिए।
उनले पार्टीको आन्तरिक समायोजनमा केही जटिलता भएका कारण अवरुद्ध क्रियाशील सदस्यता इन्ट्रीको काम पनि अघि बढेको बताए। पार्टीको आन्तरिक समायोजनका कारण अवरुद्ध बारा, बर्दिया, सिन्धुपाल्चोक लगायतका जिल्लामा आजदेखि काम अघि बढेको उनले जनाए।
उनले भने, ‘अब देशको कुनै पनि जिल्ला कुनै पनि निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता सम्बन्धी काम रोकिएको छैन।’
नेता लेखकले देशभरीबाट करिव ८ लाख २० हजार सदस्यताको इन्ट्री भएको जानकारी दिए। केही जिल्ला र क्षेत्रमा अहिले इन्ट्रीको काम जारी रहेको जानकारी दिए। अहिले इन्ट्री भइरहेका ५/६ ठाउँबाहेक अरु ठाउँको सदस्यता सार्वजनिक भइरकेको समेत बताए। यससम्बन्धमा उजरी गुनासोका लागि तोकिएको समय पनि समाप्त भइसकेको हुँदा देशभरबाट प्राप्त उजुरी र गुनासोका विषयमा छलफल भइरहेको र समान धारणा बन्नाउने प्रयास जारी रहेको उनले बताए।
पार्टीको वडा देखि केन्द्र सम्मका सबै अधिवेशन सम्पन्न गर्नका लागि पूर्व सर्तको रुपमा रहेका क्रियाशिल सदस्यताको छानविन, व्यवस्थापन र अन्तिम सूची तयार गर्ने काममा केन्द्रीत भएर छलफल भएको पनि उनले बताए।


























