असार १३ । डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको पहिलो प्रि-क्वाटरफाइनलमा १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो।
नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे। जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक एक गोल गरे। खेलको २७ औं मिनेटमा डोलवर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए। मिकेल डाम्सगार्डको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे।
दोस्रो हाफको सुरुवातमै डोलवर्गले व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई २-० को अग्रता दिलाए। वेल्सका निको विलियम्सले क्लियर गरेको बल नियन्त्रणमा लिदैं उनले ४८ औं मिनेटमा गोल गरेका थिए।
खेलको ८८ औं मिनेटमा माहेलले गोल गर्दै डेनमार्कलाई ३-० को अग्रता दिलाए। जेनसनको पासमा उनले सहजै गोल गरे। खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो। माहेललाई फउल गरेपछि उनलाई सिधै रातो कार्ड दिईएको थियो।
त्यसपछि इन्जुरी समयको चौंथो मिनेटमा मार्टिनले गोल गर्दै डेनमार्कलाई ४-० को सानदार जित दिलाए। आन्द्रेसको पासलाई उनले सदुपयोग गरेका हुन्। यस जितसँगै डेनमार्क जारी युरोकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टिम बनेको छ। वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ।
अब डेनमार्कले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ। यस अघि डेनमार्क समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो। वेल्स समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। एजेन्सी


























