असार ४ । बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो जित निकालेको छ। कोपनहेगनमा बिहीबार राति भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले लगातार दोस्रो जित निकालेको हो।
डेनमार्कमाथिको यस जितसँगै बेल्जियम अन्तिम १६ मा समेत प्रवेश गरेको छ। बेल्जियम नकआउट चरणमा पुग्ने दोस्रो टिम हो। पार्केन स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्ड र केभिन डे ब्रुएनाले एक एक गोल गरे। डेनमार्कका युसुफ पाउलसेनले एक गोल फर्काए।
खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो। खेलको दोस्रो मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कलाई १-० को अग्रता दिलाएका थिए। पाउलसेनले पिएरे इमिलको पासमा गोल गरेका हुन्।
तर, ब्रुएना चम्किदा दोस्रो हाफमा बेल्जियम खेलमा फर्कियो। खेलको ५५ औं मिनेटमा हाजार्डले गोल गर्दै बेल्जियमलाई १-१ गोलको बराबरीमा फर्काए। उनले ब्रुएनाको पासमा गोल गरे।
त्यसपछि खेलको ७१ औं मिनेटमा ब्रुएनाले गोल गर्दै बेल्जियमलाई २-१ को जित दिलाए। दोस्रो हाफमा मैदान प्रवेश गरेका ब्रुएनाले कप्तान इडेन हाजार्डको पासमा गोल गरेका हुन्। ब्रुएन खेलको ४६ औं मिनेटमा मेर्टेन्सको स्थानमा मैदान प्रवेश गरेका थिए।
चोटका कारण ब्रुएनाले पहिलो खेल गुमाएका थिए। म्यानचेस्टर सिटीका मिडफिल्डर ब्रुएना चेल्सीविरुद्धको च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका थिए। चोटपछि उनको यो पहिलो खेल हो।
जितसँगै समूह ‘बी’ मा रहेको बेल्जियमले २ खेलमा ६ अंक जोडेको छ। बेल्जियम शीर्ष स्थानमा रहेको छ। पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो।
डेनमार्कको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो। अंक विहीन रहदै पुछारमा रहेको डेनमार्कको भने अर्को चरण पुग्ने सम्भावना कमजोर बनेको छ। एजेन्सी


























