असार ३ । युरो २०२० को समूह ‘सी’ अन्तर्गत बिहीबार भएको खेलमा युक्रेनले नर्थ मेसिडोनियामाथि २-१ गोलको नतिजामा जित हासिल गरेको छ। रोमानियामा भएको खेलमा युक्रेनलाई प्रतियोगिताको पहिलो जित दिलाउन एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एकरएक गोल गरे।
पहिलो पटक युरो खेलिरहेको नर्थ मेसिडोनियामाथि हाबी बनेको युक्रेनले २९औं मिनेटमा यार्मोलेन्कोले गरेको गोलसँगै अग्रता लिएको थियो। पाँच मिनेटको फरकमा युक्रेनको अग्रता दोब्बर पार्न यारेमचुकले ३४औं मिनेटमा पुनः गोल गरेका थिए। नर्थ मेसिडोनियाका लागि एग्जान एलिवस्कीले ५७औं मिनेटमा एक गोल फर्काएका थिए।
निर्धारित ९० मिनेटको खेल सकिन ७ मिनेट बाँकी रहँदा पाएको पेनाल्टीमा युक्रेनका रुस्लान मालिनोभ्स्की गोल गर्न असफल भएका थिए। पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३-२ ले पराजित भएको युक्रेनको यो पहिलो जित हो। यस्तै पहिलो खेलमा अस्ट्रियासँग २-० ले पराजित भएको नर्थ मेसिडोनियाले समूह चरण पार गर्न सम्भावना न्युन भएको छ।


























