जेठ ३० । भारतमा दैनिक नयाँ कोरोना संक्रमित भेटिनेको संख्या घट्दै गएको छ। पछिल्लो २४ घण्टामा ८० हजार ८ सय ३४ नयाँ संक्रमित थपिएका छन्। यो बितेका ७१ दिन यताकै सबैभन्दा कम हो।
अघिल्लो दिन भारतमा ८४ हजार ३ सय ३२ नयाँ संक्रमित थपिएका थिए जुन ७० दिन यताकै कम संख्या थियो। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या पनि घटेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ३३०३ जनाको मृत्यु भएको छ। अघिल्लो दिन ४००२ जनाको मृत्यु भएको थियो।
भारतमा अहिले दैनिक संक्रमणदर ४.२५ प्रतिशत रहेको छ। बितेका २० दिनमा १० प्रतिशतले पोजेभिटिदर घटेको मन्त्रालयले जनाएको छ। निको हुने दर ९५.२६ प्रतिशत रहेको छ।
पछिल्लो चौबिस घण्टामा १ लाख ३२ हजार ६२ जना संक्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म २ करोड ९४ लाख ३९ हजार ९ सय ८९ जनामा संक्रमण भएको छ। जसमध्ये २ करोड ८० लाख ४३ हजार ४ सय भन्दा धेरै संक्रमणमुक्त भैसकेका छन्।
अहिलेसम्म कोरोना संक्रमणका कारण भारतमा ३ लाख ७० हजार ३ सय ८४ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ। अहिले भारतमा १० लाख २६ हजार भन्दा धेरै सक्रिय संक्रमित छन्। भारतले आफ्ना २५ करोड ३१ लाख ९५ हजार भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेको छ। एजेन्सी


























