काठमाडौं, जेठ २८ । नेपालले फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा समूह बी को अन्तिम खेलमा आज अस्ट्रेलियाको सामना गर्दै छ। खेल नेपाली समय अनुसार राति पौने १० बजे हुदै छ।
नेपालको विश्वकप २०२२ र एशियन कप २०२३ को संयुक्त छनौट अन्तर्गतको यो अन्तिम खेल हो। नेपाल विश्वकपमा छनौटबाट बाहिरिइसकेको छ भने एशिया कपको छनौटको सम्भावना भने कायम रहेको छ।
अहिले विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत अहिलेसम्म खेलेका ७ खेलमा २ जित र ५ हारसहित ६ अंक जोडेको छ भने समुहमा नेपाल चौथो स्थानमा रहेको छ।
त्यस्तै अस्ट्रेलिया ६ खेलमा अपराजित रहदै १८ अंकसहित शिर्ष स्थानमा रहेको छ। त्यस्तै जोर्डन ६ खेलमा १३ अंकसहित दोस्रो स्थानमा छ भने कुवेतको ६ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ। त्यस्तै समूहको पुछारमा रहेको ताइपेइको ७ खेलमा कुनै अंक छैन।
नेपालले यस अघि अस्ट्रेलियासँग खेलेको एक मात्र खेल २०१९ अक्टोबर १० मा ५-० गोल अन्तरले पराजित भएको हो।
छनौट चरणको पहिलो चरणमा एक जित निकालेको नेपालले दोस्रो चरणमा पनि एक जित चाइनिज ताइपेइविरुद्ध मात्र जित निकाल्न सफल भयो। इराकविरुद्धको मैत्रीपूर्ण खेलमा ६-२ गोल अन्तरले पराजित भएको नेपालले चाइनिज ताइपेइलाई २-० गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै अर्को खेलमा जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको थियो।

























