जेठ २५ । नेदरल्यान्ड्सले आईसीसी पुरुष विश्वकप सुपर लिग क्रिकेट अन्तर्गत आयरल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ। सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा आयरल्याण्डलाई ४ विकेटले हराएर नेदरल्यान्ड्सले २-१ ले सिरिज जितेको हो।
आयरल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य नेदरल्यान्ड्सले ४५ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो। नेदरल्यान्ड्सको जितमा स्टेपहेन माइबर्गले ७४ रनको अर्धशतकीय इनिङ्स खेले। म्याक्स ओडोडले ३६ रन बनाए। आयरल्याण्डका सिमि सिंहले ३ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको आयरल्याण्डले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ६३ रन बनाएको थियो। आयरल्याण्डका ह्यारी हेक्टरले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा जर्ज डोक्रेलले ४० रन बनाए।
सिमि सिंह २१ रनमा अविजित रहे। नेदरल्यान्ड्सका फ्रेड क्लासेन र लोगान भान विकले ३/३ विकेट लिए। यस अघि पहिलो खेल नेदरल्यान्ड्सले १ रनले जितेको थियो। तर, दोस्रो खेलमा आयरल्याण्ड ८ विकेटले विजयी भएको थियो। एजेन्सी


























