जेठ २४ । फिफा विश्वकप तथा एसियन छनोटको दोस्रो चरणमा जापानले अपराजित यात्रालाई कायम राखेको छ। एसियाली पावर हाउस जापानले सोमबार ताजिकिस्तानलाई ४-१ गोल अन्तरले पराजित गर्दै लगातार सातौं जित निकालेको छ।
जापानको जितमा क्योगो फुरुहासी, ताकुमी मिनामिनो, केन्टो हासिमितो र हयाओ कवाबेले एक एक गोल गरे। ताजिकिस्तानका एक्सोनी पाण्डजसान्बेले एक गोल फर्काए।
खेलको छैटौं मिनेटमा फुरुहासीले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। नवौं मिनेटमा एक्सोनीले गोल गर्दै ताजिकिस्तानलाई १-१ गोलको बराबरीमा फर्काए।
तर, ४० औं मिनेटमा मिनामिनोले गोल गरेपछि जापानले पहिलो हाफमा २-१ को अग्रता बनायो। खेलको ५१ औं मिनेटमा हासिमितोले गोल गर्दै जापानको अग्रता ३-१ को बनाए। त्यसपछि खेलको ७१ औं मिनेटमा कवाबेले गोल गर्दै जापानलाई ४-१ को जित दिलाए।
यस जितसँगै समूह एफको जापानले ७ खेलमा २१ अंक जोडेको छ। जापान समूहको शीर्ष स्थानमा रहेको छ। ताजिकिस्तान १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ। एजेन्सी


























