जेठ २१ । नेपालले चाइनिज ताइपेइविरुद्ध शानदार जित हासिल गरेको छ। बिहिबार राति कुवेतको जाबेर अल–हमाद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले चाइनिज ताइपेइलाई २-० गोल अन्तरले पराजित गरेको हो।
नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरेका थिए। अन्जनले खेलको चौथो मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए भने नवयुग श्रेष्ठले खेलको ८०औ मिनेटमा गोल गरेका थिए।
योसँगै नेपालले चाइनिज ताइपेइविरुद्ध लगातार दोस्रो जित हासिल गरेको छ। यस अघि विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत कै खेलमा २०१९ को सेप्टेम्बरमा भएको खेलमा पनि २-० गोल अन्तरले नै पराजित गरेको थियो।
यो जितपछि नेपालको अहिलेसम्म खेलेका ६ खेलमा २ जित र ४ हारसहित ६ अंक जोडेको छ। समुहमा नेपाल चौथो स्थानमा रहेको छ।
समुहमा अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान छ भने कुवेत र जोर्डनको १०/१० अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन्। त्यस्तै समूहको पुछारमा रहेको ताइपेइको ६ खेलमा कुनै अंक छैन।
नेपालले चौथो स्थानमा रहन सके मात्र पनि एसियन कप छनौको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर पाउने छ। अब नेपालले विश्वकप छनोट अन्तर्गत जुन ७ मा जोर्डनविरुद्ध र जुन ११ मा अष्ट्रेलियाविरुद्ध कुवेतमै खेल्नेछ।


























