जेठ २० । नेपाली राष्ट्रिय फुटवल टिमले फिफा विश्वकप छनोटको आफ्नो छैटौं खेलमा आज चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ।
नेपालको विश्वकप छनोटको तेस्रो चरण पुग्ने संभावना अंक गणितीय रुपमा मात्र बाँकी छ। समूह बीमा रहेको नेपाल पाँच खेलमा मात्र एकमा जीत हात पार्दै तीन अंकका साथ तालिकाको चौथो स्थानमा छ। नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले चौथो स्थान प्राप्त गर्दै एफसी एशीया कप छनोटमा राम्रो स्थान हासिल गर्न चाहेको बताएका छन्। खेल कुबेतस्थित जाबेर अल अहमद इन्टरनेशनल स्टेडियममा नेपाली समय अनुसार राती पौने दश बजे सुरु हुनेछ। कुबेतको तापक्रम अहिले ४५ डिग्री भन्दा माथि छ।
प्रशिक्षक अब्दुल्लाहले उच्च तापक्रममा खेल्न कठिन हुने बताएका छन्। दुवै टिमका लागि कुबेतको मौसममा खेल्न सहज नहुने उनको भनाइ छ। कुबेत जानु अघि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो। सो खेलमा ६–२ गोलको हार बेहोरे पनि त्यसले टिममा सकारात्मक प्रभाव पारेको र ताइपेइ विरुद्ध जत्नका लागि खेल्ने प्रशिक्षक अब्दुल्लाहको भनाइ छ। उनले भने– छनोटको तयारीका लागि धेरै मैत्रीपूर्ण खेल खेल्ने अवसर पाएनौ। त्यसैले युवा टोलीबाट धेरै अपेक्षा भन्दा पनि धैर्य गर्नु आवश्यक छ। अब्दुल्लाहले विपक्षीका बारेमा बोल्दै टिममा धेरै नया टिम भएको र प्रशिक्षकको पनि पहिलो खेल भएकाले सतर्क रहेको उल्लेख गरे।
ताइपेइका प्रशिक्षक भोम कान हुमले पनि मौसम नै मुख्य चुनौती भएको जनाए। उनले कोरोना भाइरसका कारण आफ्ना मुख्य खेलाडी टिममा नभएको जानकारी पनि दिए। नेपाल डिफेन्स र अट्याक्ट दुवैमा संतुलित भएको उनको भनाइ थियो।
नेपालले चाइनिज ताइपेइसँग खेलेका यसअघिका दुवै खेलमा जीत हात पारेको छ। छनोट खेलकै पहिलो लेगमा नेपालले ताइपेइलाई उसकै मैदानमा दुइ शून्यले पराजित गर्दा दुवै गोल अन्जन बिस्टले गरेका थिए। ताइपेइ छनोट खेलमा जीतविहिन छ। उसले पाँच खेलमा पाँचैमा हार बेहोरेको छ।


























