जेठ १७ । कोपा अमेरिका फुटबल अर्जेन्टिनामा आयोजना नहुने भएको छ। कोरोना भाईरसको महामारीको कारण अर्जेन्टिनामा प्रतियोगिता आयोजना नगरिने भएको हो।
दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका अर्जेन्टिनामा नगरिने जनाएको छ। प्रतियोगिता आयोजनाका लागि अन्य राष्ट्रसँग छलफल भईरहेको जनाएको छ।
कोरोनाको दोस्रो लहरसँगै अर्जेन्टिनामा फुटबल गतिविधि एक महिनाबाट स्थगित गरिएको छ। प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ। सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना भाईरसको महामारीकै कारण एक वर्ष पछि सरेको हो।
यस अघि कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा संयुक्त आयोजना हुने तय थियो। तर, सरकारविरुद्धको चर्किएको आन्दोलनको कारण कोलम्बियालाई सह आयोजकबाट हटाईएको थियो। एजेन्सी
Facebook Comments


























