महोत्तरी, जेठ ९ । महोत्तरीका विभिन्न स्थानमा गएराति सातजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टका अनुसार गौशाला नगरपालिका–९ स्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी सोनमा गाउँपालिका–४ बस्ने ४० वर्षीय कपुरी ठाकुरको मृत्यु भएको हो। गौशालाबाट बा.३६प. ४१४५ नंको मोटरसाइकलमा सोनमा जाँदै गर्दा उनको मृत्यु भएको हो।
गएराति नै जिल्लाको बर्दिबास नगरपालिका–१ स्थित अटो ग्यारेजमा काम गर्ने सिरहा मिर्चैयाका २३ वर्षीय मुकिम अन्सारी मृत्यु भएको छ। आफ्नै कोठामा पङ्खा चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
कोरोनाबाट पाँचजनाको मृत्यु
कोभिड–१९ सङ्क्रमणबाट गएराति एक महिलासहित पाँचजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौशाला नगरपालिका–५ का ६० वर्षीय पुरुष, ४ का ६८ वर्षीय पुरुष, बर्दिबास–१ का ५१ वर्षीय पुरुष, औरही नगरपालिका–४ का ६८ वर्षीय पुरुष र जलेश्वर नगरपालिका–१ का ५० वर्षीया महिला रहेको जनाइएको छ। रासस


























